You all are welcome to Illnepal.blogspot.com please leave your comments in Sagar.dahal1@gmail.com or contact us direct from contact form. please Don't forget to come back to this blog. Thanks!!!

पानीको रिमझिम...कलाकारका कुरा



काठमाडौ, फाल्गुन ५ - जाडो अब त जाला कि भनी ढुक्क पर्ने खोज्नेहरूलाई बुधबारको मौसमले दैनिकी बदल्न बाध्य बनायो । वर्षातको बेला नभए पनि बिहानैदेखिको पानीको रिमझिमका कारण तपाईंहरूमध्ये कतिपयले दिनभरि सिरक छोड्नुभएन होला, थन्क्याएको मकल फेरि झिक्नुभयो होला । सेलिब्रिटीहरूले चाहिँ के गरे ?
रामकृष्ण ढकाल, गायक
भ्यालेन्टाइन्स डे मनाउन छोरी र पत्नीसहित सौराहामा थिएँ । बुधबारै पोखरा आइपुगेका छौं । सौराहाबाट हिँड्दै पानी परिसकेको थियो । झरी निकै मन पर्छ । झरीमा ड्राइभिङ मेरो सौख हो । काठमाडौंमा पनि पानी पर्दा ड्राइभिङमा निस्कने गर्छु । काठमाडौंबाट निस्कँदै मैले आफ्ना बाक्ला कपडा बोकेकाले समस्या भएन, श्रीमतीले बिर्सेकी रहिछन् । बिहीबार जोमसोमतिर जाने योजना छ तर पानीले गर्दा फ्लाइट हुने/नहुने ठेगान छैन ।
निम्रता श्रेष्ठ, अभिनेत्री
पानी परेकाले बुधबार अबेरसम्म सुतें । उठ्दा साढे दस भइसकेको रहेछ । नुहाएर फ्रेस भई नास्ता गरेर दरबारमार्गतिर निस्किएँ । पानी परेकाले होला, ट्राफिक जाम थिएन । बाटो खुला भएकाले रमाइलो लाग्यो । पानी परेकैले साथीभाइहरूसँग घुम्न जाने मौका मिल्यो । झरीले गर्दा काम खासै नहुने भएकाले फ्रि महसुस भयो । पानीमै भने भिजिनँ । बिहीबार घाम लागिदिए हुन्थ्यो । पानी परिराख्यो भने काममा बाधा पर्छ ।
किर्म, अभिनेता
दुई सातादेखि 'गुडबाई काठमान्डु' को सुटिङमा थिएँ । तर मंगलबारदेखिको वर्षाले सुटिङ रोकियो । त्यो आउटडोर सुटिङ बिहीबार इन्डोरमा भए पनि गर्ने भइएको छ । सुटिङको हिसाबले पानी परेर बिजोगै भयो तर पर्सनल्ली रिल्याक्स । बुधबार सधैंझैं सबेरै पाँच बजे उठें । सुटिङ रोकिएकाले लगत्तैदेखि फिल्म हेर्न थालें । एकपल्ट ढोकासम्म पुगेको थिएँ, निस्कने आँटै आएन । बेलुकासम्म चार फिल्म हेरें । ओस्कारमा मनोनीत फिल्महरू ल्याएको थिएँ, 'स्विट सिक्स्टीन' बढी मन पर्‍यो । फ्रेस भएको छु ।
ऋचा शर्मा, अभिनेत्री
पानीले 'हाईवे' को सुटिङ गर्न दिएन । सुटिङ बुधबार बेलुका राजधानीकै सडकमा हुनुपर्ने थियो । झरी मलाई भने राम्रो लागेको छ । अब गर्मी सुरु हुन्छ नि । मलाई जाडो खासै मन पर्दैन । दिनभर ग्वाम्लाङ्ङ सिरक ओढेर कफी पिउँदै टीभी हेर्दा खुब मज्जा आयो । बत्ती नगएकोले ममी, दिदी, हजुरमुमासहित हामी सातजना बसेर खुब रमाइलो गर्‍यौं । युट्युबमा पुराना नेपाली गीत हेरेँ, फेसबुक अपडेट गरें । तर अब पानी रोकिए हुन्थ्यो ।
अञ्जु पन्त, गायिका
भ्यालेन्टाइन्स डेभन्दा अघिसम्म जोडतोडले काम गरेकी थिएँ । त्यो दिन श्रीमान् मनोज अमेरिकाबाट आउनुभएकाले मंगलबारसम्म दिनभर घरमै बस्यौं, मस्ती गर्‍यौं । तर आज (बुधबार) त झरी पनि भन्न पाइनँ । नक्सलको पर्पल स्टुडियोमा फिल्मी, दोहोरी र एल्बमका लागि दिनभरमा पाँचवटा गीत रेकर्ड गराएँ । भोलि (बिहीबार) पनि गीत रेकर्डिङ छ । झरी परिरहेकाले दिक्कै लागिसक्यो । आज पनि बिहान उठ्न अल्छी-अल्छी लागेको थियो । साभार: इकान्तिपुर

No comments:

Post a Comment

क्रीपय कमेन्ट गर्दा सभ्य भाषामा मात्र प्रयोग गरर्नु होला धन्यवाद!!!